भारतलाई हराउँदै नेपाल फाइनलमा

136

काठमाडौँ, २४ माघ । चिरप्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद मुस्ताफा स्टेडियममा मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

खेलको पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

खेलको २१औँ मिनेटमा अपूर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

तर, ४७औँ मिनेटमा अञ्जली चन्दले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काइन् । कप्तान प्रिति राईले ६८औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेपालाई २–१ को अग्रता दिलाइन् ।

अग्रता बनाएपछि भारतमाथि हाबी भएको नेपालका लागि अमिसा कार्कीले निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गोल गर्दै ३–१ को जित दिलाइन् ।

नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।

नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोडेको छ भने भारतले एक जित एक हार र एक बराबरीबाट ४ अंक मात्र जोड्न सक्यो । हारपछि भारत भने उपाधि होडबाट लगभग बाहिरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...