एजेन्सी, २४ माघ । टर्कीमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठुलो संख्यामा जनधनको क्षति भएको छ । भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४ हजार ३०० नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राज्य–सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु हुनुका साथै १३ हजार २९३ घाइते भएका छन् । यहाँ ५ हजार ६०० भन्दा बढी भवनहरू ध्वस्त भएका छन् ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने भन्दै उनले उद्धार र राहतलाई तिव्रता दिइरहेको बताए । उक्त भूकम्पका कारण छिमेकी मुलुक सिरियामा पनि ठुलो संख्यामा मानवीय क्षति भएको छ ।
सिरियामा उद्धारकर्ताहरूले रातभर काम गर्न हेडलाइट र फ्लड लाइटहरू प्रयोग गरेका थिए । राज्यको स्वास्थ्य मन्त्रालयल र ह्वाइट हेल्मेट राहत समूहका अनुसार यहाँ १ हजार ४५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । देशभरि हजारौँ घाइते भएका छन् ।
सोमबार बिहान ११ मिनेटको अन्तरालमा आएको दुई शक्तिशाली भूकम्पले दक्षिणी टर्कीका १० वटा प्रान्त नराम्ररी प्रभावित भएका हुन् ।
भूकम्प प्रभावित दक्षिणी टर्की र उत्तरी सिरियाको धेरैजसो क्षेत्रमा उद्धार कार्य जारी रहेको समाचार संस्था एपीले जनाएको छ ।
भूकम्पले ठुलो जनधनको क्षति भएपछि टर्कीले सात दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । साथै आगामी फेब्रुअरी १२ सम्म राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ ।