- जी थापा
नेपालगञ्ज, २३ माघ । दोस्रो स्व.श्याम थापा स्मृति फुटबल प्रतियोगितामा सोमबार मोडेल क्लब र न्यु डाँफे क्लबले जित हासिल गरेका छन् । जितसँगै मोडेल क्लब र न्यु डाँफे क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
खजुरा गाउँपालिका वडा नम्बर १ मैटहवा मावि सैनिकको खेलको मैदानमा मोडेलले एफसी–११ बर्दियालाई २–१ ले पराजित गरेको छ । मोडेलका लागि मनु थापाले दुवै गोल गरे । उनले १७औँ र २३औँ मिनेटमा गोल गरे ।
एफसी–११का लागि मोहन विकले ४०औँ मिनेटमा गोल सान्त्वना गोल फर्काए ।
यसैगरी अर्को खेलमा न्यु डाँफे क्लबले रारा जनचेतना युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्यो । न्यु डाँफेका लागि सुदीप विकले २, मनिष थापा र सुनिल खड्काले एक–एक गोल गरे । विकले खेलको ३६औँ र ४६औँ मिनेटमा गोल गरे । यस्तै, थापाले ५८औँ र खड्काले ७०औँ मिनेटमा गोल गर्न सफल भएका थिए ।
यता रारा जनचेतनाका लागि ललित रानामगरले ३४औँ र अशोक सारु मगरले ५५औँ मिनेटमा गोल गरे ।
प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिकगोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।
प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ ।