काठमाडौँ, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएका छन् ।
मल्लले पोरखामा मंगलबार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । नेपाल टी–२० लिगमा विवाद, फिक्सिङ तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएका हुन् ।
२०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि थिए ।
२०७६ असोज ११ मा क्यानको निर्वाचनबाट उनी केन्द्रीय सदस्यमा नियुक्त भएका थिए ।
मल्लले राजीनामा दिएसँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाएका छन् ।
नेपाल टी–२० लिगमा प्रक्रियासंगत निर्णय नलिँदा विवाद भएको तथा कार्यसम्पादन समितिको नाममा पदाधिकारीको मनोमानी बढेको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरूले मंगलबार अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिका पाँच जनाको राजीनामा मागेका थिए ।