काठमाडौँ, १६ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा सर्वसाधारणले सहकारीमा बचत गरेको रकम सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेनले राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका थिए ।
सोमबार राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर बालेनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महानगर क्षेत्रका सहकारीहरूमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि सहयोग गरिदिन आग्रह गरेको महानगरले जनाएको छ ।
मेयर बालेनले सर्वसाधारणको बचत सुरक्षा गर्न काठमाडौँ महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको बताए ।
सहकारीहरूमा बचतको सिलिङसम्बन्धी कानुनी प्रबन्ध गर्न सक्ने गभर्नर अधिकारीको भनाइ थियो । महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैंकले उपलब्ध गराउने उनले बताएका थिए ।