खाँदबारी, १२ माघ । सङ्खुवासभाको खाँदबारीमा प्रदेश स्तरीय ‘तेस्रो रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिता–२०७९’ हुने भएको छ । प्रतियोगितामा प्रदेश नम्बर १ का १४ जिल्लाका क्लब सहभागी हुने छन् ।
खाँदबारीमा पत्रकार सम्मेलनमार्फत् आयोजक सूर्य आवासीय माध्यमिक विद्यालयका अध्यक्ष नारायणकुमार श्रेष्टले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनकारी दिए ।
माघ १८ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश १ का १४ ओटै जिल्लाका खेलाडीहरूको सहभागिता रहने खेल संयोजक तिर्थराज पन्तले बताए ।
प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ११ हजार १११ रूपैयाँ नगदसहित २१० तोला चाँदीको शिल्ड र ३ तोला चाँदीको पदक पाउने छन् । उपविजेताले ५५ हजार रूपैयाँ नगद तथा २ तोला चाँदीको पदक पाउने छन् ।
यस्तै, तेस्रो हुने टोलीले ३३ हजार ३३३ रूपैयाँ नगद र १ तोला चाँदीको पदक पाउने आयोजकले जनाएको छ ।