काठमाडौँ, १० माघ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले नियम पालना नगर्ने निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको बताए ।
उनका अनुसार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटिसीको इन्स्ट्रक्सन नमानेपछि पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा तथा काठमाडौँबाट जापान उड्ने क्रममा स्टान्डर अप्रेसनल प्रोस्युड्युल पालना नगरेकाले प्रशन्न राना र वाइपी जुवारचनलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
जहाज विमानस्थलमा अवतरण गर्दा एटिसीको नियम पालना गर्नुपर्ने तथा उसैको निर्देशनअनुसार अवतरण गर्नुपर्ने हुन्छ । नेपाल वायुसेवा निगमका पाइलटले त्यसलाई फलो नगरेको पाइएपछि कारबाहीका लागि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको निर्देशनसँगै निगमले पाँचै पाइलटलाई निलम्बन गर्नुपर्ने र त्यसपछि, प्राधिकरणले ती पाइलटलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने प्रवक्ता निरौलाले जानकारी दिए ।