काठमाडौँ, ३ माघ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसंगतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई निगम जस्तो बनाउने बताएका हुन् । यस्तै, उनले हवाई सुरक्षामा विशेष ध्यान दिने बताए । उनले हवाई उडानलाई व्यवस्थित बनाउँदै यसलाई सुरक्षित बनाउनका लागि काम गर्ने उल्लेख गरे ।
मन्त्री किरातीले आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने स्पष्ट पारे । आफूले कानुन, विधि र नियमअनुसार नै सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ थियो । कोरोना कहरपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न आफू लागिपर्ने उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिको केन्द्रमा रहेको पर्यटन क्षेत्रको उन्नयनमा लागिपर्ने स्पष्ट पारे ।
उनले भने,“म जहाजको ककपिटमा छु । एकैचोटी जहाज उडाउँदैनौँ । सबै जाँच गरेर मात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ । जातीय, क्षेत्रीय एवम् नातागोताले अब काम गर्दैन ।” यही माघ १ गते मात्रै ठुलो हवाई दुर्घटना भएको र सम्बन्धित मन्त्रालय भएकोले छानबिन समितिलाई सहयोग गर्ने काम हुने उनको भनाइ छ ।
हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउने गरी सबै निकायसँगको समन्वयमा काम गर्ने मन्त्री किरातीको भनाइ छ । उनले भने,“काम गर्ने वातावरण बनाउनका लागि सबैभन्दा पहिलो सरसफाइ हुने भएकोले विमानस्थलदेखि सबै क्षेत्र अब सफा राख्न निर्देशनसमेत दिन चाहन्छु ।”