काठमाडौँ, ३० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट मंगलबार विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे सत्तारूढ नेताका नेताहरूबीच छलफल चलिरहेको छ ।
आज बिहान मात्रै प्रधानमन्त्री दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् विस्तारकै बारेमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले मंगलबार दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका थिए ।