जिम्मेवारी र चुनौती थपिएको छ : प्रधानमन्त्री प्रचण्ड

45

गोरखा, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन् ।

गोरखा उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताए । प्रधानमन्त्री प्रचण्डले यसलाई आफूले एउटा ठुलो चुनौती र अवसरका रुपमा लिएको समेत उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्नेसमेत बताए । उनले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल बिना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालनलगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचनका क्रममा आफूले गरेका प्रतिबद्धतलाई पूरा गर्ने बताए । “निर्वाचन अभियान दौरानमा तपाईंहरुको अगाडि गरेको बाचा कबुलहरु राम्रैसँग सम्झना छ,” उनले भने, “गोरखाको जिल्लाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर झन्डै राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न पाउँदा मलाई गर्व पनि छ ।”

उनले गोरखा जिल्लाका जनताले आफूलाई निर्वाचित गराएर सबै नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त भएको भन्दै गोरखाका मतदाताहरुलाई धन्यवादसमेत दिए ।

Share This:
सम्बन्धित खबर
Loading...