काठमाडौँ, ११ मंसिर । केलियन एमबाप्पेको दुई प्रेरित फ्रान्सले डेनमार्कलाई शनिबार राति २–१ अन्तरले पराजित गर्दै कतार विश्वकपको प्रिक्वाटरफाइनल पक्का गरेको छ ।
पहिलो खेलमा अष्ट्रेलियामाथि ४–१ को जित हासिल गरेको साविक विजेता फ्रान्स दोस्रो खेलमा डेनमार्कलाई हराउँदै समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै अन्तिम १६ प्रवेश गर्न सफल भएको हो ।
दोहास्थित रंगशाला ९७४ मा पेरिस सेन्ट जर्मन पिएसजीका फरवार्ड किलियन एमबाप्पेले ६२औँ मिनेटमा फ्रान्सलाई अग्रता दिलाएका थिए । आन्द्रेस क्रिस्टेनसनको हेड गोलमार्फत ६९औँ मिनेटमा डेनमार्क खेलमा फर्किएको थियो । तर, एमबाप्पेले समय सकिन चार मिनेट बाँकी रहँदा विजयी गोल गरे ।
दोस्रो विश्वकप खेल्दै गरेका एमबाप्पेको विश्वकपमा कुल गोलसंख्या सात पुगेको छ । फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोल गर्नेमा उनले जिनेदिन जिदानसँग बराबरी गरेका छन् ।
फ्रान्सले ६ अंकका साथ एक खेलअगावै नकआउट चरणको टिकट काट्दा समूहबाट अन्तिम १६ पुग्ने दोस्रो टोलीको निर्णय बुधबार हुने समूह चरणको अन्तिम खेलबाट हुने छ । समूह चरणको अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया तथा डेनमार्कले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने छन् ।