अमेरिका र इंग्ल्यान्डबीचको खेल गोलरहित बराबरी

31

काठमाडौँ, १० मंसिर । कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्यान्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् ।

कतारको अल बायट रंगशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका छन् । समूह ‘बी’ मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम राखेका छन् ।

समूह बीमा इंग्ल्यान्ड र अमेरिकासँगै इरान र वेल्स रहेका छन् । समूहका हरेक टोलीले दुई–दुई वटा खेल खेलिसकेका छन् । अहिलेसम्म इंग्ल्यान्डले इरानलाई ६–२ ले पराजित र अमेरिकासँग गोलरहित बराबरी गरी ४ अंक बनाएको छ ।

त्यस्तै, इरानले इंग्ल्यान्डसँग पराजय बेहोरे पनि वेल्सलाई २–० ले पराजित गरी ३ अंक बटुलेको छ भने अमेरिकाले वेल्ससँग १–१ तथा इंग्ल्यान्डसँग गोलरहित बराबरी गरी २ अंक बनाएको छ । वेल्स भने इरानसँग हार र अमेरिकासँग बराबर खेली १ अंक मात्र बनाएको छ ।

अब यही मंसिर १४ गते बुधबार इंग्ल्यान्ड र वेल्स तथा अमेरिका र इरानबीच हुने खेलले अन्तिम १६ मा पुग्ने दुई टोलीको निर्धारण हुने छ । दुवै खेल एकै समय राति १२ः४५ मा हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...