काठमाडौँ, ३० कात्तिक । काठमाडौँको दशरथ रंगशालामा बुधबार साँझ भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ ।
नेपाली राष्ट्रिय टिमले पाकिस्तानविरूद्धको मैत्रीपूर्ण खेलमा अन्तिम समयमा गोल गर्दै जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरी भएको अवस्थामा नेपाल लागि खेलको ८३औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । उनले सुनिल बलको क्रसमा सुन्दर गोल गरेका थिए ।
तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान र नेपाल दुवै टिमले पाएका केही अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
नेपाली पुरूष टिमले दशरथ रंगशालामा खेलेको यो ५०औँ खेल हो । र, पाकिस्तानविरूद्ध खेलेको यो १७औँ खेल हो ।
पाकिस्तानले फिफा प्रतिबन्धपछि खेलेको यो पहिलो खेल हो ।
नेपालले गत असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । घरेलु मैदानमा भएको खेलमा नेपालले त्यसबेला पनि बंगलादेशलाई पराजित गरेको थियो ।