बागलुङ, २१ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संविधान विरोधी भएको बताएका छन् ।
सोमबार ताराखोला गाउँपालिकाको चुनावी सभामा बोल्दै मन्त्री पौडेलले एमाले अध्यक्ष ओली संविधान विरोधी भएको बताएका हुन् ।
पाँच दलीय गठबन्धन चुनावका लागि मात्र नभई लोकतन्त्र र संविधान रक्षाका लागि भएको बताए । उनले अहिले संविधान सिध्याउने र बचाउनेबीचको लडाइ भएको बताए ।
“अहिले एकथरी संविधान बचाउने र सिध्याउनेबीचको लडाइँ हो,” उनले भने “केपी ओली प्रतिगामी शक्ति लिएर हिँडेका छन्, उनी देशप्रति इमान्दार छैनन् ।” ताराखोला सहिदहरुको रगतले रंगिएको ठाउँ भएको बताउँदै गठबन्धनको पक्षमा एकजुट हुन आग्रह गरे ।
उनले १५ हजार मतान्तरले जित्ने दाबी गरे ।“गठबन्धनको मतको हिसाब गर्दा हामी १५ हजार मतले अघि छौँ,” उनले भने,“बागलुङका वटा क्षेत्र हामीले जितिसकेका छौँ औपचारिक घोषणा हुन मात्र बाँकी छ ।”
बागलुङका जनताको मतले आफू मन्त्री भएको बताउँदै बागलुङकै विकाशका लागि जीवन्त लागिपरिरहने प्रतिबद्धता व्यक्त गरे । “म बागलुङकै मोटोमा जन्मिएको छोरा हुँ,” उनले भने, “जिन्दगी नै राजनीति भनेर लागेपछि मैले व्यक्तिगत केही गर्नु छैन जनताकै पक्षमा काम गर्छु ।”