काठमाडौँ, २० कात्तिक । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार दिएका राजेशकुमार विष्टले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
आज एक कार्यक्रमकाबीच विष्टले आफ्नो उम्मेदवारीको औचित्य र वर्तमान राजनीतिले निम्त्याएको परिवेशलाई उजागार गर्दै जनताको मागलाई सम्बोधन गर्न चुनावी मैदानमा आएको बताएका छन् । लामो समयदेखि शिक्षण, पत्रकारिता र कानुनी सेवा क्षेत्रमा क्रियशील विष्टले विश्वबजारमा बिक्ने खालको शिक्षा नीति ल्याई विश्वका विद्यार्थीलाई समेत नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउनेतर्फ लाग्ने बताएका छन् ।
बढ्दै गएको भ्रष्टाचार, अनिमियतता, बलत्कार, हिंसा जस्ता गतिविधिलाई रोक्न प्रभावकारी कानुनको निर्माणमा आफ्नो भूमिका रहने बताउँदै स्थानीय स्रोतसाधनको अध्ययन अनुसन्धन गरी स्थानीयहरुको आर्थिकस्तर वृद्धि गराउने गुरुयोजना समेत सार्वजनिक गरेको छ ।
काठमाडौँ क्षेत्र नम्बर ३ मा पुराना दल र आफ्नो स्वार्थमा लागेर निर्वाचनमा भाग लिनेहरुविरुद्ध वैकल्पिक शक्तिको रुपमा विष्टले स्वतन्त्र रुपमा चुनाव चिन्ह भँगेरा लिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको बताए ।
अधिवक्तासमेत रहेका विष्टले घोषणापत्र सार्वजनिकसँगै २२ गतेदेखि जनताको घरदैलो अभियानमा लाग्ने बताए । उनले मतदातामाझ दुई प्रतिबद्धता पेस गरेका छन् । क्षेत्रीय र राष्ट्रिय गरी योजनाहरु सार्वजनिक गरेका हुन् । राष्ट्रियमा नीति निर्माणसँगै राष्ट्रिय सवालहरु, प्रदेशसभा र सामानुपातिक उम्मेदवारको प्रणाली हटाएर राष्ट्रिय आर्थिक भार घटाउने योजना रहेको छ । राष्ट्रिय मूलधारमा महिला समावेशीकरण ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत बनाउने योजना रहेको छ ।
त्यस्तै, क्षेत्रीय स्तरमाको विकासको प्रक्रियासँगै सामाजिक रुपन्तरणमा समेत विशेष योजना बनाएको छ । सुन्दरीजललाई राष्ट्रिय निकुञ्जबाट अलग गरेर एकीकृत पर्यपर्यटकीय सुन्दरीजल क्षेत्र विकास समिति बनाउने, प्रत्येक वडामा स्वास्थ्यचौकीलाई व्यवस्थित बनाई नियमित स्वास्थ्य परीक्षण गर्न एक चिकित्सक र एम्बुलेन्सको व्यवस्थापन, निर्वाचन क्षेत्रभित्रका १३ वटा वडाहरुमध्ये एक वडा एक उतपदन उद्योगको रुपमा विकास गरी वैदेशिक रोजगारमा रहेका युवाहरुलाई स्वादेशमै रोजगारीका अवसर सिर्जना गर्ने, प्रयोगमा नआएका सुन्दरीजल विद्युत् उत्पादनगृहमा रहेको स्थापनाकालको टर्बाइनलाई पुनः जडान गरी त्यसबाट उत्पादित विद्युत् क्षेत्रका जनतालाई निःशुल्क वितरण गरिने, जेष्ठ नागरिकमैत्री धार्मिक मिनिरेल मार्ग बनाउने, बालबालिका र जेष्ठ नागरिक पार्कभिलेज बनाउने, कागेश्वरी १ र गोकर्णेश्वर १, २, ३, ४ वडाहरुमा जातीय सांस्कृतिक सामग्री उत्पादनसहितको होमस्टे स्थापना गर्ने, डिजिटल प्रविधिमैत्री क्षेत्रको रुपमा विकास गर्ने, फोहोरलाई पुनः प्रयोग प्रविधि अपनाई मोहरमा परिणत गर्नेलगायत योजनाहरु घोषणापत्रमा उल्लेख छ ।
स्वतन्त्र उम्मेदवार विष्टले यसअघि मतदाता भेटघाट कार्यक्रममा सकारात्मक सुझाव पाएको बताउँदै आफ्नो जित सुनिश्चितता गर्न विभिन्न संघसंस्था, महिला समूह, आमा समूह र स्वतन्त्र उम्मेदवारहरुसँग छलफल कार्यलाई तिव्रता दिएको बताए ।