- प्रियास्मृति ढकाल
कोहलपुर, १९ कात्तिक । बाँकेको कोहलपुर नगरपालिकालाई शैक्षिक हबकारूपमा अगाडि बढाउने गरी योजना अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको उदाउँदो सहर कोहलपुरलाई शैक्षिक हबकारूरुपमा विकास गर्ने योजनासहित नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएको हो ।
सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरूको संयुक्त बैठक एवम् क्षमता विकाससम्बन्धी शनिबारदेखि नगरपालिकामा सुरू भएको दुई दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरको सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नरम र गरम दुवै उपाय अबलम्बन गरिने स्पष्ट पारे ।
“कोहलपुरलाई शिक्षामा नमुना बनाउन चाहान्छौँ,” उनले भने, “शैक्षिक गुणस्तर सुधारका निमित्त कसैको राजनीतिक दबाब अब स्वीकार्य हुन सक्दैन् ।’ उनले शिक्षक संघसंगठनहरुलाई शिक्षामा राजनीति नगर्न चेतावनीसमेत दिए ।
“राम्रो काम गर्दा गर्दै पनि कर्मचारीमाथि अनावश्यक दबाब दिने प्रवृत्ति देखिएको छ अब त्यसलाई निरुत्साहित गरिन्छ,” उनले भने, “कोहलपुरको शैक्षिक गुणस्तर सुधारका लागि सबैको भूमिका महत्वपूर्ण छ ।’ उनले कर्मचारीहरुलाई भयरहित तरिकाले काम गर्ने वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताउँदै कसैको दबाब र प्रभाव स्वीकार्य नहुने बताए ।
मेयर आचार्यले कोहलपुरको शैक्षिक गुणस्तर सुधारकै निमित्त शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका जितबहादुर शाहलाई विज्ञका रूपमा नियुक्त गरिएको पनि स्पष्ट पारे । विद्यालयको भौतिक पूर्वाधार निर्माणदेखि प्रविधिमैत्री बनाउने सवालमा पनि नगरपालिका प्रयत्नशील रहेको उल्लेख गरे ।
यस्तै, कार्यक्रममा बोल्दै शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले कोहलपुरको शैक्षिक गुणस्तर सुधारका लागि प्राज्ञिक नेतृत्व जरुरी रहेको बताए । प्रशासनिक नेतृत्वले शैक्षिक गुणस्तर सुधार सम्भव नभएकाले विद्यालयको नेतृत्वले विद्यालयलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको बताए ।
आइतबारसम्म चल्ने तालिममा कोहलपुरका सामुदायिक विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षगरी करिब ७० जनाको सहभागिता रहेको छ । उनीहरुलाई नगरपालिकाका शिक्षा विज्ञ जितबहादुर शाहले प्रशिक्षण दिने छन् ।
कार्यक्रममा विद्यालयका प्रअहरुले विद्यालयको गतिविधि र योजनाबारे जानकारी गराएका थिए । तालिममा उपप्रमुख संगीता सुवेदी, प्रशासकीय अधिकृत टीकाराम ढकाल, वडाअध्यक्षहरुलगायतको सहभागिता रहेको थियो ।