काठमाडौँ, १८ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
उनले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र भएको स्थापित गर्ने चुनौती निर्वाचन आयोगसँग भएको बताए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीबारे जानकारी गराउन शुक्रबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुगेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयोगका अन्य पदाधिकारीसँग कुरा गर्दै उनले निर्वाचनमा अधिकतम मतदाता सहभागी हुन सक्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । उनले आयोगले गरिरहेको निर्वाचनको तयारी बारेमा खुसी व्यक्त गरे ।
‘स्थानीय तहको निर्वाचन सम्पन्न गरेकोमा म निर्वाचन आयोगलाई बधाई तथा धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आयोगले जुन तयारी गरिरहेको छ, यसमा मलाई निकै खुसी लागेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न हुनेमा म विश्वस्त छु ।’
उपराष्ट्रपतिसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धतासहित आयोगले तयारीका कामलाई तीव्र बनाएको बताए ।
उनले मतपत्र छपाईको काम सम्पन्न भएको जानकारी गराउँदै उपत्यका बाहिरका जिल्लाहरुमा ढुवानीसमेत भइसकेको जानकारी गराए । उनले मतदान सम्पन्न भएपछि आयोगले छिटोभन्दा छिटो मतगणना गरेर परिणाम घोषणा गर्ने बताए ।