ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित

144

काठमाडौँ, ८ कात्तिक । यसै वर्ष पार्टी नेतृत्वको प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक विजयी भएका छन् । पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन् ।

पार्टी नेतृत्वमा विजय भएसँगै भारतीय मूलका सुनक ब्रिटिस एसियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । विश्वका ३० भन्दा बढी देशमा भारतीय मूलका नेताहरू शासनसत्तामा पुगेका छन्, तर सुनकको सफलता अरूको भन्दा विशिष्ट छ ।

लामो समय भारतमा बेलायतको उपनिवेश रह्यो । सुनक भारतीय मूलका नागरिक हुन् र उनले अब केही समय बेलायतमा शासन गर्नेछन् । क्रिश्चियन बाहुल्य देशमा अर्थमन्त्री हुँदा उनले भगवत् गीता छोएर शपथ खाएका थिए ।

भर्खरै भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा पुग्न असफल प्रयास गरेका बौद्धिक नेता शशी थरूरको भनाइ यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । बेलायतले हामीलाई पुर्‍याएको क्षतिको परिपूरण असम्भव छ । उसले हामीलाई केवल सरी भनिदिए पुग्छ ।

भारतीय मूलकै एक युवक बेलायती प्रधानमन्त्री बनेपछि सामाजिक सञ्जालमा प्रश्न उठिरहेका छन्, “के थरूरले भनेजस्तै सुनकले बेलायती प्रधानमन्त्रीको हैसियतमा भारतसँग माफी माग्लान् ?”

सुनक सक्रिय राजनीतिमा प्रवेश गरेको ७ वर्षमै बेलायतको प्रधानमन्त्री बनन सफल भए । बेलायतको कन्जरभेटिभ पार्टीका नेता सुनक सन् २०१५ मा ३५ वर्षको उमेरमा पहिलोपटक संसद्को निर्वाचन जितेका थिए ।

सुनकको हजुरबा हजुरआमा भारतीय विभाजन हुनुअघिनै पाकिस्तानी पञ्जाबको गुजरनवाला सहरबाट पूर्वी अफ्रिका गएका थिए । लामो समयपछि उनीहरू बेलायतको साउथथेम्टन सहरमा सरे र त्यहाँ सन् १९८० मा सुनक जन्मिए ।

बेलायतका २५० धनी परिवारमध्येका एक सुनकका बुबा यशवीर सुनक चिकित्सक हुन् भने आमा उषा सुनक अहिले पनि औषधि पसल चलाउँछिन् । उनीहरू अहिले पनि यही सहरमा बस्छन् ।

कोरोना महामारीअघि नै सुनक देशको अर्थमन्त्री बनेका थिए । यो उनका लागि ठुलो उपलब्धि थियो किनभने अर्थमन्त्री पदलाई बेलायतमा प्रधानमन्त्री पदपछि दोस्रो उच्च पद मानिन्छ । उनले उक्त जिम्मेवारी निकै कुशलतापूर्वक निर्वाह गरे । फलस्वरूप धेरै मानिसले उनलाई भावी प्रधानमन्त्रीको रूपमा देख्न चाहे ।

अश्वेत जातिका सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्ने भएपछि अरू धेरै बहस सुरू भएका छन् । कतिपयले सुनकको सफलतालाई सन् २००८ मा अमेरिकाका राष्ट्रपतिमा निर्वाचित बराक ओबामाको सफलतासँग तुलना गर्छन् ।

Share This:
सम्बन्धित खबर
Loading...