आफ्नो क्षेत्रको विकासमा अर्जुन दृष्टि रहनेछ : कक्षपति

70

बाँके, ५ कात्तिक । बाँके क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा उम्मेदवार किस्मतकुमार कक्षपतिले विकास र समृद्धिमै आफ्नो अर्जुन दृष्टि हुने बताएका छन् ।

घरदैलो अभियानमा जनता माझ पुगेका उम्मेदवार कक्षपतिले ५ वर्षभित्र गर्न सकिने काम मात्र घोषणापत्रमा राखिने बताए । बाँके क्षेत्र नम्बर ३ ‘ख’को सि गाउँ, पुलचोक, रिमझिम बजार र एल गाउँमा भएको भेटघाट तथा घरदैलोमा उम्मेदवार कक्षपतिले संसद् चल्दा सदनमा अन्य समयमा जनताको बीच हुने प्रतिवद्धता जनाए ।

उनले भने, “नेताहरू चुनाव जितेर गएपछि फर्किएर आउँदैनन् भन्ने कुरा आफूले चिर्दै सधैँ जनताकै माझमा हुने छु ।” कक्षपतिले सो क्षेत्रमा पर्ने परसपुर–गौघाट सडकखण्ड र किरण नालाको पुल सम्पन्न गर्न आफ्नो पहिलो प्राथमिकता हुने बताए ।

उनले आफूले चुनाव जितेको खण्डमा जनता र पार्टीको शिर निहुरिन नदिने गरी काम गर्ने उल्लेख गर्दै सार्वजनिक खरिद ऐन संसोधन नै पहिलो आवाज हुने बताए ।

बाँके ३ प्रदेश ‘ख’का उम्मेदवार भीम ओलीले आफू जहिले पनि जनताको बीचमा हुने बताए । निर्वाचनमा आफू होमिनुका कारण पनि जनताको सेवक भएरै काम गर्न आफ्ना निर्वाचन क्षेत्रका समस्या राम्रो गरी बुझेकाले त्यसलाई समाधन गरिने उनले जोड दिए । जनताका माझमा गइरहँदा आफू निकै उत्साहित भएको उल्लेख गर्दै ओलीले पनि परसपुर गौघाट सडक निर्माणका लागि अर्जुन दृष्टि रहने कुरामा सहमति जनाए ।

एमाले र राप्रपाको तालमेलका निर्वाचन कमाण्डर बाबुराम गौतमले भीम ओली र किस्मत कक्षपतिको टिम काम गर्ने टिम भएको उल्लेख गरे ।

घरदैलो र जनता भेटघाटमा रहेका एमालेका यामबहदुर महतारा, राप्रपाका नरबहादुर ददेल, एमाले खजुरा गाउँपालिका कमिटीका अध्यक्ष गेहेन्द्र धिताललगायतले स्थानीय आवश्यकता, जनताबाट सुझाव लिइने कुरामा आफूहरूको जोड दिएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...