बागलुङ, ३ कात्तिक । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले परमादेशबाट नेकपा (एमाले) जन्मिएको आरोप लगाएका छन् । ताराखोलामा ५ दलीय गठबन्धनको चुनावी कार्यालयको उद्घाटन गर्दै उनले अदालतले जन्माएको पार्टी एमाले भएको आरोप लगाए ।
“दुई पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी बहुमतको थियो, केपीले सेटिङमा अदालतले पुरानै अवस्थामा फर्कायौँ,” उनले भने, “एमाले हो कि ? सरकार हो परमादेशको ?”
सत्ता गठबन्धन रहरले नभइ देशको आवश्यकताले बनेको उनको भनाइ थियो । “संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो,” उनले भने, “प्राप्त उपलब्धि जोगाउने र थप हक अधिकारको सुनिश्चितताका लागि संघर्ष गर्दै जानुपर्ने दायित्व हाम्रासामु छ ।”
सत्ता गठबन्धनबाट बागलुङ–२ बाट उम्मेदवार बनेका मन्त्री पौडेलले समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्वसहितको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्न आवश्यक रहेको बताए । जनताद्वारा निर्वाचित प्रतिनिधिले नै विगतमा दुई–दुई पटक संसद् भंग गरेको सुनाउँदै उनले त्यस्तो प्रवृत्तिले देशलाई अहित गर्ने बताए ।
मन्त्री पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा बागलुङका सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरे ।
उनले ताराखोला गाउँपालिकामा प्रत्येक स्थानीयहरूको घरमा केन्द्रीय प्रशारण लाइन जडान हुने बताउँदै केही समयपछि पर्यटकीय क्षेत्र ताराखोलाहुने बताए । उनाँले पोखराबाट सिधैँ ताराखोलामा पर्यटक आउने बताउँदै होमस्टे, सहिदमार्गलगायतका काम चाडै हुने बताए ।
विकासमा कुन व्यक्ति कहाँ जन्मियो भन्ने विषयले फरक नपार्ने बताउँदै सबै कुरा कामले जबाफ दिने बताए ।
बागलुङ प्रदेश सभा सदस्य ‘क’ काउम्मेदवार जितबहादुर शेरचनले भ्रष्टाचारले देश कंगाल बन्दै गएको बताउँदै गठबन्धनको सरकारले भ्रष्टाचार न्यूनीकरणमा काम गर्ने बताए । मानव विकास सुचांक वृद्धिले मात्रै देशको विकास हुने बताए ।