प्रतिगमनलाई रोक्न गठबन्धन : मन्त्री पौडेल

29

बागलुङ, २ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनलाई रोक्न ५ दलीय गठबन्धन भएको बताएका छन् । निसीखोला गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले ५ दलीय गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको बताएका हुन् ।

देशलाई अघि बढाउने संस्कृतिको विकास भएको बताउँदै यो गठबन्धनबाटै सरकार बन्ने उद्घोष गरे । “पाँच दलीय गठबन्धन टुटाउन विदेशीहरुले चलखेल गरे,” उनले भने, “उच्चस्तरीय नेतृत्वले विदेशी चलखेललाई चिरेर अघि बढ्नुभयो ।”

बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पौडेलले मध्यपहाडी लोकमार्ग निर्माण गर्दा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रुपमा काम गरेको स्मरण गराउँदै उनले ढोरपाटन साल्झण्डीको सडक कालोपत्रको काम चलिरहेको उल्लेख गरे ।

रंगेली, हरिचौर, रणसिंह किटेनी, भीमगिठे, दर्लिङ, निसीहुँदै प्युठान जोड्ने सडकको काम भइरहेको बताउँदै मध्यपहाडी लोकमार्गको विकल्पको रुपमा भएको बताए ।

बागलुङका दुर दराजका जनताको पिर मर्का बुझेको बताउँदै छुट्टै खालको प्रशासनिक कार्यालय बुर्तिबाङमा ल्याउने आश्वासन दिए ।

मध्यपहाडी लोकमार्ग हुँदै काठेखोला नरेठाँटी सुरुङमार्गको काम अघि बढेको बताउँदै उत्तरगंगा जलाशययुक्त परियोजनाको काम पनि अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्यका उम्मेदवार दोर्णकुमार कुँवरले प्रतिगमनका विरुद्ध ५ दलीय गठबन्धन भएको बताए । आन्दोलनबाट प्राप्त गरेको अधिकारलाई संरक्षण गरी संविधानको रक्षाका निम्ति मुद्दा र विचार मिल्नेहरुबीच गठबन्धन भएको बताए ।

संघीयता, गणतन्त्र, लोकतन्त्रलाई रक्षा गरी जनताका आधाभूत विकासलाई पूरा गर्न जनतामाझ गठबन्धनका उम्मेदवार आएको बताए ।

बागलुङ, गुल्मी, रोल्पा र रुकुमका जनतालाई सहजका निम्ति अर्नाकोट एयरपोर्टको परिकल्पना गरिएको सुनाए ।

Share This:
सम्बन्धित खबर
Loading...