नागरिकता विधेयक राष्ट्रहितविपरीत : विष्णु पौडेल

132

बुटवल, ७ असोज । पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले संसद्ले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रहित अनुकूल नभएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेको बताएका छन् ।

सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई प्राथमिकतामा नराखी भोलि बिहे गरेर आउनेहरूका लागि प्राथमिकता दिएर विधेयक ल्याएकाले यो राष्ट्रहित अनुकूल नभएको उनको दाबी छ ।

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले विजयादशमी, दिपावली, नेपाल संवत तथा छठको अवसरमा शुक्रबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान, स्वागत एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

“जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्नेमा एमाले दृढ छ, तर गठबन्धन सरकारले यसलाई भन्दा बढी प्राथमिकता बिहे गरेर नेपाल आउनेहरूलाई राख्यो, जसका कारण नागरिकता विधेयक राष्ट्रको हितमा देखिएन,” उनले भने ।

उपाध्यक्ष पौडेलले पाँच दलीय गठबन्धन मुलुकमा बेथिति सिर्जना गर्ने उद्देश्यले निर्माण गरिएको आरोप समेत लगाए । “गठबन्धन मुलुकमा बेथिति ल्याउनका लागि जन्मेको हो, जोसँग मुलुकमा अस्थिरता सिर्जना गर्ने बाहेक अर्को एजेण्डा छैन,” उनले भने ।

पाँच दलीय गठबन्धन पाँचतिर फर्केको र यससँग साझा नीति, कार्यक्रम र घोषणापत्र नभएको र देश हाक्ने विश्वासिलो नेतृत्व समेत नभएको दाबी गर्दै उपाध्यक्ष पौडेलले मुलुकलाई यो बेथितिबाट पार लाउन आगामी चुनाव एमालेले जित्नैपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...