कीर्तिपुर, ७ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षकबाटै संविधान मिच्ने काम भएको बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, “हामीले आमकिसान, मजदुर, सुकुमबासी, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरूक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौँ भने कुनै पनि दिन प्रतिगमन हुन सक्ने खतरा छ ।”
प्रचण्डले पछिल्लो पटक टिआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले त्यो देखाएको बताए । गत सालदेखिनै प्रतिगमन नयाँ–नयाँ स्वरूपमा आइरहेको उल्ले गर्दै उनले कुनै दिनमा प्रतिगमन हुने अझै खतरा रहेको बताए ।
उनले भने, “संविधानको पालक र संरक्षकबाट जानिबुझी संविधान खुलेआम मिच्ने काम भएको छ । यो सामान्य होइन । हजारौँको बलिदानबाट, लाखौँलाख किसान, मजदुर, उत्पीडितको आन्दोलनका उपलब्धि खोस्ने प्रयास भएको छ ।” उनले नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले चालेको कदमविरूद्ध सबै किसान एकजुट भएर अभियान नै सञ्चालन गर्न आग्रह गरे ।
प्रचण्डले मुलुकमा ऐतिहासिक जनआन्दोलन र जनयुद्धका उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै क्रियाशील रहेको बताए ।
उनले गत वर्ष संसद् विघटनबाट सुरू भएको प्रतिगमन त्यतिबेलाका लागि परास्त गरिए पनि त्यो अझै नरोकिएको समेत बताए । यसका विरूद्धमा आन्दोलनको तयारी गर्न प्रचण्डले किसानलाई आग्रह गरे ।
“हामीले आवाज उठाएनौ भने प्रतिगमनको फँडाले फेरि डस्न सक्छ, किनकी यसले ऐतिहासिक उपलब्धिविरूद्ध रातदिन प्रहार र षड्यन्त्र गरिरहेको छ,” उनले भने । यसका साथै प्रचण्डले प्राप्त उपलब्धिलाई सिध्याउन नेतृत्वमाथि प्रहार गर्ने क्रममा आफूमाथि भ्रष्टाचारका साथै अन्य खालका झुटा प्रचार केन्द्रित गरिएको बताए ।
“भारत गएका बेला हुँदै नभएको भेटलाई पनि भेट भयो भन्दै नितान्त झुटा प्रचार गरिएको छ,” प्रचण्डले भने । आफूले दुई पटक सरकारको नेतृत्व गर्दा ‘भ्रष्टाचार भयो’ भन्ने अवसर कसैलाई नदिएको भन्दै उनले अहिले करोडौँ खर्च गरेर आफूविरूद्ध प्रचार केन्द्रित गरेको बताए ।