काठमाडौँ, ४ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग रणनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा व्यक्त गरेका छन् । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले उक्त व्यक्त गरेका हुन् ।
‘चीन–नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै सम्माननीय राष्ट्रपतिज्यूसँगै मिलेर विकास तथा समृछि उन्मुख युगायुगसम्म चल्ने मैत्रीपूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने मेरो इच्छा छ,’ राष्ट्रपति सीले शुभकामना सन्देशमा भनेका छन् ।
सन्देशमा चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका असल छिमेकी भएको जनाउँदै उनले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिए तापनि नेपाल र चीनले सधैँ एक–अर्काको सम्मान, समर्थन तथा मित्रवत् व्यवहार गर्दै आएको बताएका छन् ।
‘बेल्ट एन्ड रोड अवधारणको उच्च गुणस्तरीय संयुक्त निर्माण गर्दै हामीले कोभिड महामारीको चुनौतीको संयुक्त सामना गरिरहेका छौँ,’ राष्ट्रपति सीले भनेका छन्, ‘यसै क्रममा आपसी राजनीतिक विश्वास तथा परम्परागत मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।’
त्यसैगरी प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षी ली खछ्याङ र स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।
‘चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन् । आपसी सम्बन्ध स्वस्थ र स्थिर रूपमा अघि बढिरहेको छ । संयुक्त रूपमा बेल्ट एन्ड रोड निर्माण गर्दै दुवै पक्षले विभिन्न क्षेत्रमा भएका आदानप्रदान तथा सहयोग सक्रिय रूपमा विस्तार गरिरहेका छौँ,’ सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले भनेका छन् ।
दुई देशको विकास रणनीतिलाई गहन रूपमा जोड्दै पारस्पारिक सम्बन्धको विकासबाट दुई देश र जनताको अझ बढी हित गर्दै जाने आफ्नो इच्छा रहेको लीले बताएका छन् ।
चिनियाँ विदेशमन्त्री वाङले दुई देशका महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने र चीन–नेपाल रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थिर रूपमा अगाडि बढाउने बताएका छन् ।