महानगरले गर्‍यो ३९ ठाउँमा मापदण्डविपरीतका संरचनामाथि कारबाही

628

काठमाडौँ, ३० भदौ । काठमाडौँ महानगरपालिकाले ३९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यवसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ । नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यवसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो । यसैगरी २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभरल्यापिङ र सेडब्याक हटाएको छ ।

‘पार्किङ् प्रयोजनका लागि निर्माण भएका संरचनाहरुमा पार्किङनै गराउनु पर्छ । यसअघि आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगर्दा अहिलेको भयावह अवस्था आएको हो । यसलाई वेवास्ता गर्नु भनेको सहरलाई थप विगार्नु हो । यसो भयो भने हाम्रा पुस्ताले हामीलाई राम्रो मान्दैनन्,’ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) कारबाहीका विषयमा भन्छन्, ‘नक्सा स्वीकृत गर्ने बेलामा व्यक्ति तथा संस्थाले महानगरबाट सुविधा लिएको तर, आफूले महानगरसँग गरेको कवुलियत तथा सर्त पूरा नगरेकाले कारबाही गर्नुपरेको हो ।’

वेसमेन्ट तथा जमिन तलालाई पार्किङका रुपमा खाली गराइएका ठाउँहरुमध्ये वडा नम्बर १ दरबारमार्ग २ वटा भवन छन् । यिनीहरु नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन् । वडा नम्बर १४ कलंकीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेष्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर हटाउने काम भएको छ ।

वडा २६ सामाखुसीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेन्च्युरी बैंक परिसरभित्र रहेका अनधिकृत पसलहरु हटाइएका छन् ।

वडा नम्बर १० बानेश्वरमा पर्ने ५ जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर ५ वटै घरको पार्किङ बनाउने काम भएको छ । यसैगरी अल्फा बिटा कम्प्लेक्सको भूमिगत तलामा ताला लगाइएको छ । यही वडाका बर्गर हाउस, युएफओ, रारा कम्प्लेक्स र जी सपले महानगरको सूचना पालना गर्दै अनधिकृत संरचना र अनधिकृत उपयोग हटाएका छन् ।

वडा नम्बर २२ सुन्धारास्थित काठमाडौँ मलको भुईँ तलामा रहेको सटर हटाएर पार्किङका लागि खाली गरिएको छ । यही वडामा रहेको आरवी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ । बीरा कम्प्लेक्सको भूमिगत तलामा रहेको होलसेल पसल हटाएर गोदाम मापदण्डबमोजिम सञ्चालन गर्ने सहमति गरिएको छ ।

वडा नम्बर २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुईँतला खाली गराइएको छ ।

मापदण्डविपरीतका अनधिकृत संरचना हटाइयो

वडा नम्बर ३ को बसुन्धरा चोकबाट सिर्जनशील मार्गसम्मको करिब ९ सय मिटर जिएलडी (गाइडेड ल्याण्ड डिभलपमेन्ट/निर्देशित जग्गा विकास कार्यक्रम) बाटो खोलिएको छ । यस क्रममा झण्डै १ सय घरका अनधिकृत कम्पाउण्ड भत्काइएको छ । वडा नम्बर ४ बालुवाटार विशालनगरस्थित मल्पी स्कुलले सार्वजनिक जग्गा अतिक्रमण गरेर लगाएको जस्ताको बारसहितका संरचना हटाइएको छ । वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका ओभरल्यापिङ हटाइएको छ ।

यस्तै, वडा नम्बर ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ र विज्ञापनमुलक सामग्री हटाइएको छ । वडा १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ । वडा १६ को ढुंगेधारा, वडा १७ को धोवी चौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ । वडा १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ ।

यही वडाको नयाँबजार जग्गा एकीकरण आयोजनाभित्र रहेको जुडो हल वरिपरि विभिन्न व्यवसाय गर्न बनाइएका ६ वटा अनधिकृत टहरा हटाइएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे कारबाहीका विषयमा जानकारी दिँदै भन्छन्, ‘स्वीकृत मापदण्डविपरीतका संरचना हटाउन दिएको सूचना अटेर गरेपछि आफैँले भत्काउन जानु परेको छ ।’ उनका अनुसार वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि विशालबजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका सन्तानेश्वर भवानी शंकर मन्दिर, उमा शंकर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना र ओभरल्यापिङ संरचना हटाइएको छ ।

वडा नम्बर २६ मा नयाँ बसपार्क मित्रनगरदेखि म्हेपी मन्दिरसम्मका अनधिकृत सेड व्याक, ओभरल्यापिङ्, अनुमति नलिई राखिएका विज्ञापन बोर्ड हटाइएको छ । वडा नम्बर २९ हनुमान स्थान चिकेन क्युन रेष्टुरेन्टको घर खाली गराइएको छ ।

वडा नम्बर ३२ कोटेश्वर, अरनिको राजमार्ग दायाँबायाँ क्षेत्रमा भएका अनधिकृत संरचना, स्वीकृति नलिई राखिएका विज्ञापन बोर्ड हटाइएको छ । नरेफाँट क्षेत्रमा माइकिङ गरेर सचेत गराइएको छ । यस्तै, भाटभटेनी सुपर मार्केटको भूमिगत तलालाई पार्किङका लागि खाली गराइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...