काठमाडौँ, २८ भदौ । सरकारले विश्व बैंकबाट झन्डै ३५ अब रूपैयाँ ऋण लिने निर्णय गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले २७५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यो ऋण रकम यातायाल तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने जनाइएको छ ।
बैठकले अर्थमन्त्री जनार्दश शर्माको अमेरिका भ्रमण स्वीकृत गरेको छ । वासिङटन डिसीमा हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन मन्त्री शर्मा नेतृत्वको प्रतिनिधिमण्डलाई स्वीकृति दिने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
प्रहरी वरिष्ठ उपरिक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सर्तकर्ता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा नियुक्त गर्ने
महालेखापरीक्षक टंकमणि शर्मा (दंगाल) नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय सर्वोच्च लेखापरीक्षण संस्थाहरूको संगठन २४औँ महाधिवेशनमा सहभागिता जनाउन स्वीकृति दिने ।
बेरूजु फर्छ्यौट अनुगमन समितिको सचिवालयमा आर्थिक वर्ष २०७९/८० का लागि राजपत्रांकित स्तरको दरबन्दी स्वीकृत गर्ने ।
विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।
महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने ।
संयुक्त राज्य अमेरिकाको वासिंटन डीसीमा आयोजना हुने विश्व विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।
२०७९ असोज ८ र ९ गते स्वीडेनको स्टकहोममा आयोजना हुने १४औँ एनआरएनए युरोपियन रिजनल मिटिङ (इआरए)मा सहभागी हुन कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको भ्रमण स्वीकृत गर्ने ।
सामाजिक सुरक्षा (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने ।
नेपाल र रोमानियाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृत प्रदान गर्ने ।
जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुको नेपाल भ्रमणको अवसरमा वार्ता प्रतिनिधिमण्डल गठन गर्ने ।
पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृत दिने ।
किबुज हाई लेभल स्टडी भिजिट इन नेपाल कार्यक्रममा सहभागी हुन भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई स्वीकृति दिने ।
मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत आव २०७९/८० का लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
जिल्ला समन्वय समिति प्युठानको जग्गा गौमुखी गाउँपालिका, प्युठानको नाममा हक हस्तान्तरणका लागि स्वीकृति दिने ।