काठमाडौँ, २१ भदौ । राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिकरूपमा माफी माग्नुपर्ने माग गरेकी छन् ।
मंगलबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौड्यालले मन्त्री भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिकरूपमा माफी माग्नुपर्ने बताइन् । उनले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने भन्दै नागरिकले तिरेको करबाट सेवा सुविधा लिनेहरू शासक नभइ सेवक भएको बताइन् ।
उनले भनिन्, ‘दुई दिन अगाडि मात्रै हो, एकजना मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदा एउटा गार्डप्रति गरेको अमानवीय व्यवहार एकदमै धेरै अस्वीकार्य छ । उहाँले यसमा सार्वजनीकरूपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ तर सार्वजनीकरूपमा माफी माग्नुपर्छ । किनभने हामी सेवक हौँ । शासक होइनौँ । यो कुरा स्थापित गर्नुपर्छ ।’
सांसदहरूले विधि बनाउने भन्दै उनले विधि उल्लंघन गर्ने पनि उनी विधि बनाउनेहरू नै भएको टिप्पणी गरिन् । यस प्रकारको घटना पुनः नदोहोरियोस् भन्नका लागि उनले सरकारको ध्यानाकर्षण पनि गराइन् ।
‘विधि बनाउने हामी, विधि उल्लंघन गर्ने हामी, विधि उल्लंघन गर्न नदिँदा एउटा श्रमिकलाई पाँच दिन थुनामा राख भनेर थुनामा राख्ने पनि हामी ? यो भएन । यसलाई सरकारले तुरून्तै ध्यान पुर्याओस् । र, यो खालको घटना फेरि नदोहोरियोस् भनेर पनि म सरकारप्रति माग गर्न चाहन्छु । र मन्त्रीले सार्वजनिकरूपमा माफी मागुन् भनेर पनि माग गर्न चाहन्छु,’ उनले भनिन् ।