काठमाडौँ, १५ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूची नदेखिएको बताएका छन् । १५औँ पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुची हराउँदै गएको बताएका हुन् ।
‘अहिलेको पुस्तामा पुस्तक पढ्ने रूची हराउँदै गएको छ,’ शिक्षामन्त्री पौडेलले भने, ‘पुस्तक पढ्ने रूची हराउँदै जाँदा अध्ययन अनुसन्धान क्षेत्रमा कमजोर हुने अवस्था आयो ।’
पुस्तक एवम् पत्रपत्रिका पढ्ने हराउँदै गएको बताउँदै मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाइ हिँड्ने चलन सुरू भएको बताए ।
‘लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्ने तिर पछिल्लो पुस्तामा हराउँदै गयो,’ उनले भने, ‘त्यसले सामाजिक समवेदना र जिम्मेवारीबोध, संस्कार र संस्कृति हराउँदै गयो ।’
उनले आधुनिकीकरणको नाममा संस्कार र संस्कृति भुल्ने पुस्तकहरू पढ्ने, धारणा बनाउने जस्ता क्रियाकलापहरू कमजोर हुँदै गएको बताए ।
यसवर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऊँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५औँ पुस्तकालय दिवस मनाएको छ ।