राष्ट्रपतिसँग एमालेका नेताको एसपीपीदेखि अग्निपथसम्म छलफल

89

काठमाडौँ, १४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेताहरूसँग छलफल गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूलाई सोमबार अपरान्ह भेटेपछि राष्ट्रपति भण्डारीले एमाले नेताहरूलाई साँझ शीतल निवास बोलाएकी थिइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थतासँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा राष्ट्रपति भेट्न पुगेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेलले झन्डै दुई घन्टा कुराकानी गरे ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले भारतीय सैनिक अभियान ‘अग्निपथ’बारे उठिरहेका विवादबारे जिज्ञासा राखेकी थिइन् ।

एमाले नेताहरूले गोर्खा भर्तीसँग जोडिएको विषय भएकाले त्रिपक्षीय छलफल हुनुपर्नेमा नेपाललाई अहिलेसम्म थाहा नभएकोबारे सरकारसँग सोधेको तर कुनै जबाफ नपाएको बताएका थिए ।

“भारतले एकपक्षीय रूपमा अग्निपथ लागु गर्न खोज्दा पनि सरकारको धारण आएन,” उपाध्यक्ष नेम्वाङले शीतल निवासमा आफूहरूको धारण उद्धृत गर्दै भने, “पछि यो अभियान रोकियो भन्ने पनि सुनियो । तर, हामीकहाँ कुनै जानकारी छैन ।”

राष्ट्रपति भण्डारीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे पनि जान्न चाहेकी थिइन् । उनले एमाले नेताहरूसँग यसबारे के भइरहेको छ भनी सोधेकी थिइन् । सरकारले अमेरिकालाई यो अभियानमा नेपाली संग्लनता रोकिएको बारे जानकारी गराउने भने पनि हालसम्म औपचारिक सूचना नपाएकोमा चासो व्यक्त गरेको एमाले नेताहरूले बताए ।

राष्ट्रपतिले नागरिकता विधेयक छलफलका लागि फिर्ता पठाए नि त्यसको छलफल संसद्मा होस् भन्ने आफूले चाहेको तर सत्ता गठबन्धनले जबाफ फर्काएकोमा गुनासो गरेकी थिइन् । आफूले गठबन्धन नचिन्ने, संसद् चिन्ने उनको भनाइ थियो ।

“मैले जुन गम्भीरतासाथ यो विषय उठाएकी थिएँ, त्यसको रेस्पोन्स त्यही अनुरूप हुन सकेन, म दुःखी छु,” उनले भनिन्, “मैले २००९ सालयताको विवाद सधैँका लागि रोकिने गरी यो विषय टुंगो लगाउन संसद्मा रहेका दलहरूले काम गर्नेछन् भन्ने अपेक्षा राखेको थिएँ । त्यस्तो भएन ।”

Share This:
सम्बन्धित खबर
Loading...