काठमाडौँ, १२ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अब मिचाह वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन नदिने बताएका छन् ।
आइतबार मेयर साहले प्रेस विज्ञप्ति जारी गर्दै अब मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन नदिने बताएका हुन् ।
उनले भनेका छन्, “सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुइँ तला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानुनी छ । अब मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन दिने छैनौँ ।”
सकेसम्म मिचाह प्रवृत्तिको रोकथाम गर्ने, रोमथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प खुला रहेको उनले बताए ।
“अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तनसम्बन्धी गैरकानुनी कार्यको थप निरन्तरता रोक्न अहिले हामी मूलतः रोकथाम तथा नियन्त्रणसम्बन्धी कारबाहीको चरणमा छौँ,” उनले भनेका छन् ।
न्यायिक निरूपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौँ महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ उक्त कुरा बुझिदिन पनि उनले आग्रह गरेका छन् ।
पछिल्लो समय अनधिकृत संरचना हटाउनका लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको बताउँदै अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोमथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चाल ऐन, २०७४ को दफा ११ (२) ले दिएको उनले बताएका छन् ।