राति जथाभावी फोहर फाल्नेलाई सिसिटिभी हेरेर कारबाही गर्छौँ : मेयर साह

335

काठमाडौँ, ८ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही गर्ने बताएका छन् ।

नेपाल प्रहरीको आयोजनामा बुधबार काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापनलगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसिटिभी हेरेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए ।

विशेष गरी रातको समयमा यसरी जथाभावी रूपमा फोहर फालिने गरिएको छ । उनले उपत्यकाको सिसिटिभी क्यामराका लागि महानगरले बजेटसमेत व्यवस्थापन गरेको पनि जानकारी दिए । नेपाल प्रहरीले उपत्यकामा हाल पाँच हजार सिसी क्यामरा रहेको र यहाँको शान्ति सुरक्षा चुस्त बनाउन र अपराध नियन्त्रणमा २५ हजार सिसी क्यामरा चाहिने जनाएको छ ।

प्रमुख साहले नेपाल प्रहरीसँग सहकार्य गरेर भवन जुन प्रयोजनका लागि नक्सा पास भएको छ, त्यही प्रयोजनमा ल्याउनका लागि प्रयास थालिएको पनि जानकारी दिए । उनले पार्किङका लागि बनाइएको क्षेत्रमा पसल, व्यवसाय सञ्चालन गरिएको ठाउँमा हटाउने कार्यमा प्रहरीसँग सहकार्यमा काम भइरहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...