काठमाडौँ, ८ भदौ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले एक दुई दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा उनले दलका शीर्ष नेताहरूबीच यसै विषयमा छलफल भइरहेको बताए । कार्यक्रममा उनले पार्टीबाट निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रिया पहिलाको जस्तै हुने बताए । सुरूमा जिल्लाबाट प्रदेशमा दावेदारको नाम सिफारिस हुन्छ र त्यसपछि प्रदेशबाट केन्द्रमा नाम सिफारिस हुन्छ । यही प्रक्रियाबाट आएका मात्रै उम्मेदवार बन्ने छन् । यसरी दावेदारको नाम सिफारिस गर्दा बढीमा तीन जना केन्द्रमा सिफारिस हुने छन् । सकेसम्म जिल्लाबाट एकै जनाको नाम सिफारिस गर्ने प्रयास हुने छ । यद्यपि, प्रजातान्त्रिक प्रक्रिया पनि मानिन्छ ।
उनले पार्टीका ‘ह्याभीवेट’हरूसँगको प्रतिस्पर्धामा आउनेहरूबीच आपसी सहमतिका लागि प्रयास पनि गरिने बताए । यसमा नेताहरूले सहजै मिलाउने विश्वास लिएको उनको भनाइ छ ।
उनले सत्ता साझेदार गठबन्धनसँगै निर्वाचनमा पनि गठबन्धन हुने दोहोर्याए । तर, कसरी सिट विभाजन हुने भने टुंगो नलागेको बताए । यद्यपि, कांग्रेसले भनेजस्तो अघिल्लो निर्वाचनको संख्याको आधारमा सिट विभाजन गर्न नमिल्ने बताए । उनले भने, ‘अहिलेको परिस्थिति नै अर्कै छ । यसका लागि भिन्न मापदण्ड बनाउनुपर्छ । हामी मापदण्ड बनाउ भनिरहेका छौँ । छलफल एक–दुई दिनभित्रै टुंगिन्छ ।’
फरक प्रसंगमा उनले पार्टी पदाधिकारी समावेशी नभएको स्वीकार गरेका छन् । उनले भने, ‘विकासको यात्रामा, कम्युनिस्ट पार्टी निर्माणको यात्रामा, विकासको चरणमा, समानुपातिक तथा समावेशी मुद्दामा अधिकतम रूपमा सम्बोधन गर्न प्रयास गरिरहेका छाँै । अहिले पदाधिकारीमा नमिलेको भए पनि तल्लो समितिबाट प्रक्रिया चलाइरहेका छौँ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सुनिश्चितता गरेका छौँ । पदाधिकारीको सवालको सन्दर्भमा त्यो चाहन्थ्यौँ । तर, अहिलेको चरणमा त्यो गर्न सकेनौँ ।’
कार्यक्रममा उनले स्वतन्त्र विचार राखेर जोसुकै पनि निर्वाचनमा सहभागी हुन सक्ने बताए । प्रजातन्त्रमा दलगत विचारका साथै स्वतन्त्र विचारलाई पनि सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।