समाजवादीसँग एकता गर्छौँ, बाबुराम र वामदेवलाई पनि सँगै लैजान्छौँ : पुन

80

काठमाडौँ, ८ भदौ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र नेकपा (एकीकृत समाजवादी)बीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् ।

विचार मिलेकै कारण आसन्न ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको उनले बताए । यस्तै, एकता संयोजन समिति बनाउने र निर्वाचनपछि पार्टी एकता हुने सहमति आफूहरुबीच भइसकेको उनको भनाइ थियो ।

‘माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा विचारको समानता छ । राजनीतिक कार्यदिशामा पनि एकरुपता छ । केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौँ,’ पुनले भने, ‘परिस्थितिले हामी अलग भएका छौँ । तर, फरि पनि हामी वामशक्तिहरु एक ठाउँमा आउनुपर्छ । यसमा सबभन्दा राजनीति मिल्नेहरु भनेको माओवादी र समाजवादी नै हो ।’

पुनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि एउटै घोषणापत्र बनाएर चुनावमा जानेबारे छलफल चलेको जानकारी दिए । ‘बाबुराम भट्टराईजी र वामदेव गौतमजीसँग पनि कुरा भइरहेको छ,’ पुनले भने, ‘सकेसम्म एउटै घोषापत्र बनाएर जाने कुरा भइरहेको छ ।’

यस्तै उनले सत्ता गठबन्धनमा रहेका काँग्रेससहित अन्य दलसँग न्यूनतम साझा कार्यक्रम बनाएर निर्वाचनमा जाने बताए ।

मुलुकको परराष्ट्र नीति, तथा सुशासन र विकासबारे समान धारणा बनाएर जनताका बीचमा लैजाने उनले स्पष्ट गरे । राजनीतिक स्थायित्व, संविधानको रक्षा र संविधानमा उल्लेख जनताका अधिकार कार्यान्वयनका लागि वर्तमान सत्ता गठबन्धन बनेको चर्चा गर्दै उनले ती विषय पनि आफूहरुको साझा चुनावी एजेण्डा भएको उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...