काठमाडौँ, ५ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको बताएका छन् ।
आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरू भएको बताए । ‘१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौँ,’ मन्त्री पौडेलले भने, ‘१२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन् अब तीन वर्षमा भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौँ ।’
विद्यालयको भौतिक पूर्वाधारसँगै कानुनी सुधार र शिक्षण सिकाइ प्रक्रियाको सुधार मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै विद्यालय सुधार गर्न साझा संकल्प गर्नुपर्ने बताए । ‘शिक्षकहरूका सेवा सुविधामा समस्या होलान् तर मन्त्रालय कर्मचारी सरहको सेवा सुविधा दिनेगरी अघि बढेको छ,’ उनले भने, ‘ शिक्षा मन्त्रालय कर्मचारीको मात्र नभइ शिक्षकासाथीहरुको हो ।’ दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयहरूमा बसको व्यवस्था, दरबन्दी मिलानलगायतका समस्यामा मन्त्रालयले विशेष ध्यान दिने आश्वासन दिए ।
उनले उच्च शिक्षालाई जोड्न विद्यालय शिक्षासँग प्राविधिक शिक्षा जोड्ने प्रक्रिया गत वर्षदेखि सुरूवात भएको बताउँदै यस वर्ष थप एक सय विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने बताए । ‘१४० विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम चलिरहेका छ,’ उनले भने, ‘यस वर्ष थप सय विद्यालय छनोट गरी सीपलाई रोजगारसँग जोड्छौँ ।’
मन्त्री पौडेलले शिक्षा सुधार गर्ने जिम्मेवारी शिक्षकहरूको भएको बताउँदै उनीहरूलाई गाली गरेर नभइ अधिकार, माया र प्रोत्साहन गर्नुपर्ने तर्क गरे । उनले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक ‘होम टु, भिजिट’को प्रक्रिया थाल्नुपर्ने बताए ।
‘शिक्षकहरूलाई संस्थागत विद्यालयले भन्दा निजीले सेवा सुविधा कम दिएका छन्,’ मन्त्री पौडेलले भने, ‘कम सेवा सुविधा भएपनि शिक्षकको मेहनतले विद्यार्थीको आकर्षण निजीमा भएको देखिन्छ ।’
सोही कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक शिक्षालय सुधार गर्ने काममा महानगरपालिका लागिरहेको बताइन् । सार्वजनिक विद्यालयको गुणस्तरमा थप सुधार गर्ने महानगरपालिकाको योजना रहेको बताउँदै विद्यालय सुधारका लागि महानगरले सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरिन् ।
यस्तै, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले सही नेतृत्व हुँदा विद्यालयको गुणस्तरमा परिवर्तन आउने बताए । उनले हिजोका गल्तीकमजोरीलाई सच्चाउँदै विद्यालयको नक्सांकन, दरबन्दी मिलानलगायतका विषयमा महानगरले ध्यान दिनुपर्ने सुझाव दिए ।
नवर्निमित ३५ कोठे विद्यालयको भवन ३ करोड ५० लाख लागतमा सम्पन्न भएको छ ।
विद्यालयका प्रअ नातिकाजी महर्जनका अनुसार काठमाडौँ महानगरपालिकाको १ करोड, महायक्षबाट ६७ लाख, बागमती प्रदेशबाट ९० लाख, जिल्ला शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट २९ लाख, प्रदेश सांसद् विकाश कोषबाट ५० लाख, जिल्ला शिक्षा, समन्वय इकाईबाट २१ लाख सहयोग प्राप्त भएको थियो ।
एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको विद्यालयमा साइन्स, म्यानेजमेन्ट, ल, र सिभिल इञ्जिनियरिङको पढाइ हुने गरेको छ । हाल विद्यालयमा ४ हजार २ सय विद्यार्थी अध्ययनरत रहको प्रअ महर्जनको भनाइ छ ।