मकवानपुर क्षेत्र नम्बर २ बाट विरोध खतिवडाको नाम सिफारिस
काठमाडौँ, ५ भदौ । नेकपा (एकीकृत समाजवादी) ले मकवानपुरको क्षेत्र नम्बर २ बाट पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी क्षेत्र नम्बर २ को शनिबार बसकेको बैठकले खतिवडालाई प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
आगामी १० भदौमा बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय भएको एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिए ।
बैठकले क्षेत्र नम्बर २ को ‘क’ बाट रामचन्द्र बल तथा ‘ख’बाट भूमिनन्द अर्याललाई उम्मेदवार सिफारिस गरेको दाहालले बताए । बैठकले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ केदार न्यौपाने, मुनु सिग्देल, राजाराम स्याङ्तान तथा राष्ट्रियसभाका लागि ललित बस्नेतको नाम सिफारिस गरेको हो ।
खतिवडा मकवानपुरबाट सर्वाधिक सांसद् बनेका नेता हुन् । उनी २०४८, २०५१, २०५६ र २०७४ मा नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।