सत्ता गठबन्धनकै जनमोर्चाले भन्यो– राष्ट्रपतिको कदम ठिक छ, नागरिकता विधेयक खारेज गर्नुपर्छ

125

काठमाडौँ, २ भदौ । राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले अहिलेको संसद्‌बाट जारी गर्न लागिएको नागरिकता विधेयकअनुसार नागरिकता बाँडै जानो हो भने नेपाल चाँडै फिजी हुने बताएकी छन् ।

पाँच दलीय गठबन्धनकी सदस्यसमेत रहेकी सांसद् पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा भएको त्रुटीबारे सदनले छलफलमा ल्याओस् भनेर सुझावसहित फिर्ता पठाएकोमा स्वागत गरिन् । साथै उनले फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताइन् ।

विधेयक खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने धारण पनि राखिन् ।

नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भन्दै उनले विवाह गर्नेबित्तिकै कुनै पनि विदेशी नेपाली नागरिक हुन योग्य नहुने बताइन् ।

‘राष्ट्रिय जनमोर्चाले संविधान घोषणा हुँदा पनि नागरिकता विधेयकबारे धारणा राखेर संशोधन हालेको थियो,’ उनले भनिन्, ‘नागरिकता पाउने राजनीति, सामाजिक, भौगलिक आधार र सीमाहरूको अध्ययन गरेर दिने गरिन्छ । बिहे गर्दैमा नागरिकता पाउन योग्य भयो भन्ने सिद्धान्तमा विश्वमा कहीँ पनि छैन ।’

उनले नागरिकता अखण्डता र राष्ट्रियतासँग जोडिएको बताइन् । सांसद् पौडेलले जन्मको आधारमा कुन विधिशास्त्रअनुसार नागरिकता वितरण गरिँदै छ भनेर प्रश्न गरिन् ।

‘नेपाली नागरिकलाई अन्याय भएको छ भने सुधार्न सकिन्छ । तर, जन्मको र वैवाहिक आधारमा अहिलेको प्रावधानअनुसार नागरिकता नदिउँ,’ उनले भनिन्, ‘हामीसँग छिमेकीले र हाम्रा चेलीले बिहे गरेर लानेहरूले कस्तो व्यवहार गरेका छन् त्यहीअनुसार गरौँ । नागरिकता वैवाहिक अंगिकृतलाई सात वर्ष तोकेर नै जानुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...