काठमाडौँ, २ भदाै । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था समिति बैठक बिना निष्कर्ष टुंगिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै संघीय संसद्मा फिर्ता पठाएको नागरिकता विधेयकमा दलहरूबीच सहमति नजुट्दा बैठक बिना निष्कर्ष सकिएको हो ।
कार्यव्यवस्थाको बैठकमा सत्तारूढ दलका सांसद्ले विधेयक हुबहु तत्काल पारित गर्नुपर्ने र फेरि राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि पठाउनुपर्ने धारणा राखेका थिए । तर, प्रमुख प्रतिपक्ष एमालेलगायत दलका सांसद्ले भने केही समय लगाएर थप छलफल हुनुपर्ने माग गरेका थिए ।
सरकारमा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र प्रतिपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले नागरिकता विधेयक पारित आजकै बैठकबाट गर्नुपर्ने पार्टीको लाइन सुनाएका थिए ।
कांग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले राष्ट्रिय जरूरी महत्वको विषय मानेर नागरिकता विधेयक आजै पारित गर्नुपर्ने बताए ।
एमाले सांसद् कृष्णभक्त पोखरेलले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्नेमा त्यसो नभएको बताए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले नागरिकता विधेयकमा सबै दलहरूले स्वीकार गरेका विषय रहेकाले पारित गर्नुपर्ने बताएका थिए । उनले विवादित विषय नागरिकता विधेयकमा नराखिएकाले संसद्बाट पारित हुनुपर्ने धारणा राखेका थिए ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि सभामुख सापकोटाले आजकै प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक गृहमन्त्री बालकृष्ण खाणले पेस गर्ने कार्यसूची सार्वजनिक गरेका छन् । जुन विधेयकलाई आजै सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने भएका छन् ।