माओवादी प्रवक्ता महरा भन्छन्– पदाधिकारीको टुंगो भोलि लाग्छ

134

काठमाडौँ, १ भदौ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको टुंगो बिहीबार लगाउने भएको छ ।

पार्टीको जारी स्थायी समिति बैठकले बिहीबार पदाधिकारीको टुंगो लगाउने प्रवक्ता कृष्णबहादुर महराले बताए । सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता महराले भने, ‘आज छलफल सुरू भयो । भोलि बिहान ८ बजे बस्ने बैठकबाट सबै टुंगिन्छ ।’

उनले केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिमा केही थप गर्नुपर्ने र पदाधिकारी टुंगो लगाउनुपर्ने भएकाले छलफल त्यसैमा केन्द्रित भएको बताए ।

गत पुसमा सम्पन्न माओवादीको ८औँ महाधिवेशनले पदाधिकारी चयन, स्थायी समिति र पोलिटब्युरो गठन गर्न बाँकी राखेको थियो ।

यसअघि बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति र पोलिटब्युरो गठन गर्नुका साथै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई चयन गरेको थियो ।

२९९ सदस्यीय केन्द्रीय समितिसहित, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष गरी १५ जना पदाधिकारीको व्यवस्था महाधिवेशनले गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...