समय पक्कै लाग्छ तर विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ : बालेन साह

457

काठमाडौँ, ३१ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले विगतमा सिसडोलमा भएको लापरबाहीका कारण स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु स्वभाविक भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै बालेनले फोहोर व्यवस्थापनमा विगतमा भएको लापरबाहीका कारण स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु स्वभाविक भएको तर सोही अपराध आफूहरूले नदोहोर्‍याउने बताए ।

“यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापरबाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरूले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन,” उनले भने, “तर, हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ ।”

बालेनले फोहोर व्यवस्थापनका लागि केही समय लागे पनि विगत दोहोर्‍याएर अपराध नगर्ने बताएका हुन् ।

यस्तै, उनले सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील भएको र गरेका सहमतिको पालना गर्ने बताएका छन् ।

बालेनले सोमबार पनि दुई सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था कसरी बन्यो भन्दै प्रश्न पनि गरेका छन् । यस्तै, केही दिनदेखि देखिएको समस्या सतही मात्र भएको उनको जिकिर छ ।

“केहीदिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरू छन्,” उनले लेखेका छन्, “नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ?”

बालेनले फोहोर व्यवस्थापनमा पूरै राज्य संरचना किन निरीह बनेको भन्दै प्रश्नसमेत गरेका छन् ।

सत्तारूढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरूद्ध गरिएकाले फोहोर सोमबार पनि लैजान अप्ठ्यारो भएको उनले बताए ।

“सत्तारुढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो,” बालेनले लेखेका छन्, “यद्यपि, २०० भन्दा बढी प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरू बञ्चरे लगियो । तर, केहिी समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरू बञ्चरेडाँडा लैजान सकियो ।”

Share This:
सम्बन्धित खबर
Loading...