काठमाडौँ, २२ साउन । काठमाडौँ उपत्यकामा फेरि ‘नो हर्न’ अभियान सुरू भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकासँग समन्वय गरी अभियान सुरु गरेको हो ।
आइतबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी अभियानको सुरूवात गरिएको हो । कार्यक्रममा महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई अथितिको रूपमा बोलाइएको थियो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख साहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
नो हर्न अभियानबारे सचेतना दिन आजदेखि १५ दिनसम्म पद्मकन्या बहुमुखी क्याम्पसका एक सय विद्यार्थीहरू पनि ट्राफिक प्रहरीसँगै सडकमा खटिने छन् ।
हर्नले ध्वनी प्रदूषण मात्र नभइ व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिएको मेयर साहले बताए ।
काठमाडौँ उपत्यकामा ध्वनी प्रदूषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेदेखि नो हर्न लागु गरिएको थियो । जसअनुसार अत्यावश्यक पर्दाबाहेक अन्य अवस्थामा हर्न बनाउन निषेध गरिएको छ ।