काठमाडौँ, १२ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आलोचना र प्रशंसा सबैको स्वागत गरेर अघि बढ्ने बताएका छन् । आगमी आर्थिक वर्ष २०७९/८० को बजेट सर्वसम्मतले पारित भएको जानकारी दिँदै मेयर साहले कार्यान्वयनका लागि सहकार्यको विकल्प नभएको बताएका छन् ।
बजेत निर्माण गर्दा महानगरका प्राथमिकता तय गरेको उनले बताएका छन् । “हामीले महानगरको प्राथमिकता तय गरेका छौँ । तत्काल परिवर्तन गर्ने आवेशमा र ‘क्रान्तिकारी देखिन’ सबै कुरामा एकसाथ प्रहार गर्ने वा एक्लै हिँडेर पुग्न खोज्ने गल्ति गरेका छैनौँ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “पुराना किसिमका बजेटका शीर्षकहरुलाई यसपाली पनि निरन्तरता दिएका छौँ । र, भविष्यका लागि सकारात्मक आधार बन्ने केही नयाँ शीर्षकमा बजेट थपेका छौँ ।”
महानगरवासी र महानगरका पनि सीमा र बाध्यता भएको उल्लेख गर्दै अहिलेको प्रमुख प्राथमिकता फोहोर व्यवस्थापन रहेको उनले बताए ।
“अहिले फोहोर व्यवस्थापनलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ,” उनले भने, “शिक्षा र स्वास्थ्यलाई थप मजबुत बनाएर हरेकको पहुँचमा गुणस्तरीय सेवा पुग्न सक्ने बनाउन सो क्षेत्रमा तीन गुणासम्म बजेट वृद्धि गरेका छौँ ।”