काठमाडौँ, ९ साउन । यू–२० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४–० ले विजयी भयो । जितसँगै नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ ।
माल्दिभ्सविरुद्ध बल पोजिसन र फिनिसिङमा उत्कृष्ट देखिएको नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा तीन गोल गर्यो । नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।
खेलको ४२औँ मिनेटमा दिपेश गुरुङको गोलबाट नेपालले अग्रता लियो । आयुष घलानले हानेको डाइरेक्ट फ्रिकिकलाई माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गरे । सोही रिबाउन्ड बललाई दिपेशले करिब २५ यार्डबाट गोलमा परिणत गरे ।
दोस्रो हाफमा मेघराज केसीको नेपाल थप माल्दिभ्सविरुद्ध हाबी भयो । ५८औँ मिनेटमा सुगम सुवालले काउन्टर अट्याकमा गोल गरे । डेनमार्कबाट टिममा स्थान बनाउन नेपाल आएका सुगमले वान भर्सेस वानमा दोस्रो बार च्यापेर गोल गरे । जुन बललाई माल्दिभ्सका गोलरक्षकले ठम्याउन सकेनन् ।
६१औँ मिनेटमा नेपालले तेस्रो गोल गर्यो । कप्तान आयुष घलानलाई माल्दिभ्सका हुसैन शाभिनले फाउल गरेपछि नेपालले पेनाल्टी अवसर पायो । कृतिशरत्न छुन्जुले उत्कृष्ट गोल गर्दै नेपाललाई ३–० को अग्रता बनायो ।
खेलको इन्जुरी समय वैकल्पिक खेलाडी मनग्यले गोल गर्दै नेपाललाई सहज ४–० को जित दिलाए ।
अधिकांश समय बल नियन्त्रणमा राखेको नेपालले गोलका केही राम्रा अवसर गुमाएको थियो ।
आयुष, सुगम र दिपेशले पाएका केही अवसर सदुपयोग गर्न सकेनन् । यस्तै, माल्दिभ्सका केही राम्रो प्रहार गोलरक्षक इश्वर गुरुङले विफल पारेका थिए ।
यसअघि यू–१८ र यू–१९ समूहमा भएको प्रतियोगितामा नेपाल दुई पटक च्याम्पियन भएको छ । यस्तै, भारतले एक पटक जितेको छ ।
प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग बुधबार खेल्ने छ । यस्तै, भारत र बंगलादेशसँग क्रमशः खेल्ने कार्यक्रम रहेको छ ।
लिग तालिकाको शीर्ष स्थानमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।