काठमाडौँ, ८ साउन । प्युठान जिल्लाको झिमरुक र गौमुखी क्षेत्रलाई चिनाउने गरी काठमाडौँमा कलाकृति प्रदर्शनी सुरु भएको छ । शनिबार बबरमहलस्थित नेपाल कला परिषद्मा विभिन्न दश कलाकारहरुले तयार पारेका चित्र प्रदर्शन गरिएको हो ।
उद्घाटन कार्यक्रममा एमाले नेता तथा पूर्वखानेपानीमन्त्री मणि थापा, नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, सांसद एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेल, झिमरुक गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णप्रसाद पोख्रेल, झिमरुक गाउँपालिका निवर्तमान अध्यक्ष तिलक जिसीलगायतको सहभागिता रहेको छ ।
प्रदर्शनीमा चित्रकारहरू रतनकुमार राई, जीवन राजोपाध्याय, नरेश सैंजु, कुन्ती थापामगर, सुजिता महर्जन, सुदेशा श्रेष्ठ, सारा राई, राजकुमार रानामगर, मुकेश श्रेष्ठले बनाएका चित्रहरू प्रदर्शन गरिनुका साथै सुदर्शन कार्कीले खिचेका फोटोहरू पनि राखिएको छ ।
आफ्ना चित्रहरू प्रदर्शनी गर्न पाउँदा सबै कलाकार उत्साहित भएको बताउँदै कलाकार रतनकुमार राईले सबैलाई प्रदर्शनी अवलोकन गर्न अनुरोध गरे । निःशुल्क प्रवेश रहेको सो प्रदर्शनी तीन दिनसम्म सञ्चालन गरिने छ ।