राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक दासानायके दिए राजीनामा
काठमाडौँ, ४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । श्रीलंकाली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफ्नो पदबाट राजीनामा घोषणा गरेका हुन् ।
उनले आफनो निर्णय अहिलेसम्मकै कठिन निर्णय रहेको भन्दै व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताए। नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षक दासानायकेलाई गत गतवर्ष मंसिरमा खुला छनोटबाट दुई वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो । उनले एक वर्ष पनि नपुग्दै पदबाट राजीनामा दिएका छन् ।
दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षको जिम्मेवारी बहन गरेका थिए । उनको पहिलो कार्यकालमा नेपालले निकै ठुलो र ऐतिहासिक सफलता हासिल गरेको थियो । सन् २०१४ मा बंगलादेशमा आयोजित आइसिसी टी–२० विश्वककप प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो ।
त्यस्तै, उहाँकै प्रशिक्षणमा नेपालले डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । उनको पहिलो कार्यकाल निकै फलदायी भए तापनि दोस्रो कार्यकालले खासै सफलता हासिल गर्न सकेन । यसैसाता स्कटल्यान्डमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत घरेलु टोली स्कटल्यान्ड र नामिवियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा सफलता हासिल नगरेपछि उनी आलोचित बन्न पुगेका थिए ।
नेपालले खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित हात पारेको थियो । पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीको खराब नतिजाका कारण उनी दबाबमा परेका थिए ।