‘कुहिने र नकुहिने फोहोर छुट्याऔँ’ भन्दै काठमाडौँका मेयर साह घर दैलोमा

978

काठमाडौँ, ३२ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) कुहिने र नहुने फोहोर छुट्याऔँ भन्दै घर दैलो कार्यक्रममा निस्किएका छन् । शनिबार बिहानै उनीसहित महानगरपालिकाको वातावरण विभागको टोली घर दैलो कार्यक्रममा निस्किएका हुन् ।

महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर संकलन गर्न लागेको हो । त्यसका लागि महानगरले तालिका पनि सार्वजनिक गरेको छ । त्यसैको प्रचारप्रसार गर्न मेयर साह घर दैलो कार्यक्रममा निस्किएका हुन् ।

‘स्रोतमा नै फोहोर नमिसाउने अभियान’ लेखिएको फ्लेक्स बोकेर उनीहरु घर दैलोमा निस्किएका हुन् । साहले स्थानीयलाई पर्चा देखाएर कहिले कुन खालको फोहर निकाल्ने भनेर सिकाएका पनि थिए ।

महानगरले शनिबार एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर संकलन गर्ने दिन आइबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबार तोकेको छ । तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्न अनुरोध गरेको छ ।

महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरबासीलाई सचेत र जानकारी गराएको थियो ।

पटक–पटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाहीस्वरुप प्रतिव्यक्ति ५०० जरबानासमेत गर्ने जनाइएको छ ।

महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरपालिकाले जनाएको छ ।

महानगरले फोहर छुट्याउनका लागि कुहिने र नकुहिने फोहरको भाँडो नै छुट्टाछुट्टै राख्न भनेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...