प्युठानमा चट्याङ लागेर २ जनाको मृत्यु, ९ जना घाइते

203

काठमाडौँ, २१ असार । प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्युठानमा सोमबार चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।

प्युठानको ऐरावती–६ बिजुलिकोट बस्ने १२ र ७ वर्षका दुई बालकको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

सोही स्थानमा चट्याङ लागेर अन्य पाँच जना घाइते भएका छन् । चट्याङबाट घाइते हुनेहरुमा २७ वर्षीय पुरुष, उनकी २१ वर्षीया श्रीमती, उनकै २ वर्षीया छोरी, १९ वर्षीया किशोरी र १२ वर्षीया बालिका रहेका छन् । उनीहरुको उपचार अहिले जिल्ला अस्पतालमा भइरहेको छ ।

यस्तै, प्युठानकै ऐरावती–१ महारानी बस्ने एक बालिका र तीन जना महिला पनि सोमबार चट्याङ लागेर घाइते भएका छन् । उनीहरुको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...