काठमाडौँ महानगरका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध

98

काठमाडौँ, १७ असार । काठमाडौँ महानगरपालिकाले अबदेखि सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ । शुक्रबार महानगरले एक सूचना जारी गर्दै महानगरको सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारीसाधनमा बसेर भिख माग्न नपाइने बताइएको हो ।

“महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थलमा कसैले भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिइ भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन काठमाडौँ महानगरपालिका नगरसभा ११औँ अधिवेशनबाट स्वीकृत नीति समेतका आधारमा यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।

सूचनमा साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्पराअनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा कुनै रोक नलगाइएको जनाएको छ ।

महानगरले १० दिनभित्रमा उल्लेखित सार्वजनिक स्थामा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्न भनेको छ । सूचनाको उल्लंघन गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानुनबमोजिम कारबाही हुने महानगरले बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...