काठमाडौँ, १६ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा भएका सबै पत्र सार्वजनिक गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।
६४औँ संसद् दिवसको अवसरमा नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले प्रधानमन्त्रीसँग एसपीपीका सम्बन्धमा सुरुवातदेखि अहिलेसम्म भएका सबै पत्र सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले एसपीपीका विषयमा संसद्मा गम्भीर प्रश्न उठेकाले त्यसमा को–को संलग्न छन् प्रष्ट पार्नका लागि पनि रक्षा मन्त्रालय र नेपाली सेनाले पठाएका पत्र संसद्मा सार्वजनिक गर्नुपर्ने बताए ।
‘एसपीपीलाई लिएर हाम्रा पार्टी अध्यक्षलाई जोडिएको पनि छ । उहाँ प्रधानमन्त्री भएको १५औँ दिनमा नै सेनाले पत्र पठाएको छ । त्यो ठिक थियो या थिएन, तर प्रश्न उठ्ने त भयो नै । उहाँले पनि मैले पत्र लेख्न लगाएको होइन भन्नुभएको छ । तर, सबै सरकारका पालमा पत्र गएको देखिन्छ । अब प्रधानमन्त्रीलाई म आग्रह गर्दछु, सेनाले पठाएका पत्र, रक्षा मन्त्रालयमा भएका पत्रहरु सबै संसद्मा प्रस्तुत गरिदिनुस् न ! को–को संलग्न छन् भन्ने प्रष्ट भइहाल्छ,’ उनले भने ।