बिमितको उपचार नियमित गर्न स्वास्थ्य बिमा बोर्डको आग्रह

123

काठमाडाैँ, १० असार । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थालाई बिमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बिमितको उपचारबापतको भुक्तानीको प्रक्रिया भइरहेकाले बिमितलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेका हुन् ।

‘परीक्षण भएका दाबीको भुक्तानी यथाशीघ्र गर्ने कार्यमा बोर्ड लागिपरेको छ । आगामी दिनमा कार्यतालिका तयार गरी नियमित भुक्तानी गरिने व्यहोरा अवगत गराउँदै बिमितलाई नियमित स्वास्थ्योपचार प्रवाह गर्न सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डले अनुरोध गरेको छ,’ उनले जारी गरेका विज्ञप्तिमा भनिएको छ ।

बीमा बोर्डले बिमितबापतको रकमको भुक्तानी नगरेको भन्दै त्रिवि शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज र नोबेल मेडिकल कलेजले बिमितको उपचार नगर्ने घोषणा गरेका थिए । उनले स्वास्थ्य बीमा कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भइ बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था र परीक्षण भएका दाबीको १२ महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म १८ लाख ५३ हजार ९५३ वटा बिमितको भुक्तानीको दाबी प्राथमिकताका साथ परीक्षण भइरहेको छ । उनले आव २०७८÷७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख नौ हजार ५७ संख्या र चालु आवमा ३३ लाख ७५ हजार ८३७ बिमित संख्या गरी कुल ५२ लाख ८४ हजार ८९४ बिमित बिरामीको दाबी परीक्षण गरी आठ अर्ब १३ करोड भुक्तानी गरिसकेको जानकारी दिए ।

बोर्डमा दैनिक हुने दाबी बढ्दो क्रममा रहेको दाबी प्रविष्ट हुने र दाबी परीक्षण गर्ने अनुपातमा तादम्यता मिलाउन जनशक्तिको अभावमा केही विलम्ब हुन गएको उनको भनाइ रहेको छ । उनले आगामी आवमा दाबी परीक्षण कार्यलाई वैज्ञानिक प्रविधि अपनाई परीक्षण गर्ने तयारी भइरहेको बताए ।

हालसम्म ७७ जिल्लाका ७४६ स्थानीय तहमा करिब ५६ लाख ३९ हजार नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । प्रतिपरिवार तीन हजार ५०० तिरेर एक लाखसम्मको उपचारबापतको सेवा बिमा कार्यक्रममा दिइने गरिन्छ । हाल सेवा प्रदायक स्वास्थ्य संस्थाबाट दैनिक २५ देखि ३० हजार संख्यामा दाबी गरिरहेका छन् । देशभरिमा ४५० वटा स्वास्थ्य प्रदायक स्वास्थ्य संस्थासँग बोर्डले सम्झौता गरी बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...