काठमाडौँ, २ असार । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली (एनआरएन)लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरुसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् ।
रुस भ्रमणको अन्तिम दिन बिहीबार एनआरएन र नेपाली दूतावासद्वारा आयोजित विशेष भेटभाट कार्यक्रममा बोल्दै मन्त्री गहतराजले आफूले सिकेको सीप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरे ।
नेपालमा लगानिको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न मन्त्री गहतराजले आग्रह गरे । विगतका असहजता र समस्याहरुलाई हल गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनले बताए ।
विदेशमा आर्जन गरेको सीप र स्वीफ्ट मनीले नेपालमै केही गर्नुपर्छ भन्ने संकल्पको भावनालाई कसरी व्यवस्थित गर्ने भन्नेबारे सरकारी तहबाट छलफल भइरहेको बताउँदै मन्त्री गहतराजले नेपालमा लगानी भित्र्याउन रुसमा रहेका नेपालीहरुलाई आग्रह गरे ।
अवसर र सम्भावनाको हिसावले नेपाल नयाँ ठाउँमा पुगेकाले आगामी दिनमा नेपालको भविष्य सुखद् रहेको मन्त्री गहतराजले दाबीसमेत गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव डा.दामोदर रेग्मी, रसियास्थित नेपाली दूतावासका कर्मचारी तथा एनआरएनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेएका मन्त्री गहतराज भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।